शक्ति राष्ट्रले नेपाललाई खेलमैदान बनाउन लागेः जितेन्द्र देव

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेलमैदान बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेलमैदान बनाउन लागेको बताए । उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट गरे ।

उनले नेपाल कुनै पनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरु सचेत हुनुपर्ने बताए । सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए ।

देशको भू–राजनीतिक अवस्थाअनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभई पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको उनको भनाइ थियो ।


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media