बाढीका कारण मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध

राष्ट्रपाटी न्युज

५ श्रावण २०७९

काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए ।

हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।

गएराति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आससमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


Published :५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media