रूख ढलेर किच्दा भक्तपुरमा तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौं । भक्तपुरको सल्लाघारीमा सडकछेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीनजनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्रफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताए ।

काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेको उनले बताए ।

दुर्घटनामा घाइते भएकाहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media