एसईईको नतिजा भोलि सार्वजनिक हुँदै, ३५ अंक नल्याए फेल

राष्ट्रपाटी न्युज

१० श्रावण २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसईईको नतिजा बुधबार (भोलि) सार्वजनिक गर्ने भएको छ ।

कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने बताए ।

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिकरुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका छन् ।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात् ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

 


Published :१० श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media