यु २० साफ : बंगलादेश र भारत विजयी

राष्ट्रपाटी न्युज

१४ श्रावण २०७९

काठमाडौं । यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगालादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल खेल्दा पनि अंकविहिन रहेको माल्दिभ्स तालिकाको चौथो स्थानमा छ ।

यता, शुक्रबारै भएको पहिलो खेलमा भारतले पहिलो जित निकाल्ने क्रममा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो । भारतसँग पराजित भएको श्रीलंका भने तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले र दोस्रो खेलमा नेपालसँग ३-० ले पराजित भएको थियो ।


Published :१४ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media