काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरेर ‘विविसंघ’ अर्थात् ‘विश्वविद्यालय बिगार्ने संघ’ राख्न सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले नेविसंघको नाम नै परिवर्तन गर्न माग गरेका थिए । प्राध्यापक र सहप्राध्यापकको परीक्षा चलिरहेको बेला फेरि नेविसंघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘प्राध्यापक र सहप्राध्यापकको मौखिक परीक्षा लिने पूर्वसन्ध्यामा साउन दोस्रो साताबाट फेरि तालाबन्दी गरेकाले त्रिवि अस्तव्यवस्त भएको छ । त्रिविमा यो तालाबन्दी अरु कुनै संगठनबाट नभई सत्तारुढ पार्टी त्यसमा पनि प्रधानमन्त्रीको पार्टी नेविसंघबाट भएको छ, म आग्रह गर्न चाहन्छु नेपाल विद्यार्थी संघको नाम परिवर्तन गरेर ‘विविसंघ’ अर्थात् ‘विश्वविद्यालय बिगार्ने संघ’ राख्नका लागि प्रस्ताव गर्न चाहन्छु । यो हालतमा विश्वविद्यालय पुर्याइँदैछ ।’ उनले भने।
त्रिभुवन विश्वविद्यालयलाई अस्तव्यस्त बनाउन सरकारको नेतृत्व गरिरहेको कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनका विभिन्न समूह लागिरहेको प्रमुख प्रतिपक्षी एमालेका सांसद यज्ञराज सुनुवारले बताएका छन् । उनले त्रिविलाई बिगार्न लागेको विद्यार्थी संगठनमाथि सरकारको नेतृत्व गरिरहेको पार्टी र सरकारले ध्यान नदिएको उनको भनाइ थियो ।
७ हजार शिक्षक, ७ हजार कर्मचारी, साढे ३ लाभन्दा बढी विद्यार्थी रहेको र ६० वटा आंगिक क्याम्पस तथा एक हजार ८० सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन गरिरहेको त्रिविलाई यतिबेला सरकारको नेतृत्व गरिरहेको पार्टीको संगठनले अस्तव्यस्त बनाएको उनको गुनासो रहेको थियो।