एमालेले चुनाव हारे देश बर्बाद हुन्छः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

२० श्रावण २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । उनले आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताए ।

काठमाडौंमा भएको कार्यक्रममा ओलीले भने- ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै ओलीले उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने बताए । देशलाई बर्बादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नुपर्ने उनले दोहोर्‍याए ।

सत्तारुढ गठबन्धनका नेताहरुको कुनै गन्तव्य नै नभएको उनले आरोप लगाए । ‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आआफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भने, ‘यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन् यिनीहरु, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’

ओलीले अगाडि भने, ‘माधव नेपालको त छटपटीमा जुनी बित्छ, गन्तव्य सन्तव्य केही छैन, बिचराको ।’


Published :२० श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media