काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएका छन् । आजका दुवै बैठक दिउँसो १ बजे सुरु हुनेछन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्याङ्क विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय सभाको सन्देश सहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सावर्जनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईरालाले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।