नितिशकुमारले लिए बिहारको मुख्यमन्त्रीका रूपमा आठौँपटक सपथ

राष्ट्रपाटी न्युज

२५ श्रावण २०७९

काठमाडौँ । बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा आज शपथ लिएका छन्। उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो ।

भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका छन्। सातदलीय महागठबन्धनको हिजोको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो। तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा उनी फेरि सत्तामा पुगेका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि आजै राज्यको उपमुख्यमन्त्रीको शपथ लिए। राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिए।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एक सय ६४ जना विधायकको समर्थन छ । (रासस)


Published :२५ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media