काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
बिहीबार केएलटावरस्थित हाइभ लञ्चमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको हो ।
चाबहिलस्थित स्मार्ट पार्टी भेन्यूमा आगामी शनिबार महाधिवेशन हुनेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सो संघका अध्यक्ष आङ दामी शेर्पाले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न आङ दामी शेर्पाको नेतृत्वमा ५०१ सदस्यीयआयोजक समिति गठन गरिएको छ । महाधिवेशन आयोजक समितिका सचिव आङ पेम्बा शेर्पाका अनुसार आयोजक समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन् ।
नाम्गेल शेर्पाको नेतृत्वमा सचिवालय समिति, आङ काजी शेर्पाको नेतृत्वमा आर्थिक समिति, आङ पेम्बा शेर्पाको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, लामाबाउ शेर्पाको नेतृत्वमा प्रचार प्रसार समिति, पेम्बा शेर्पाको नेतृत्वमा स्वयंसेवक तथा मञ्च व्यवस्थापन समिति, आङ देण्डी शेर्पाको नेतृत्वमा स्वास्थ्य, ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा सांस्कृतिक समिति, नाम्गेल शेर्पाको नेतृत्वमा प्रतिवेदन, आङ पेम्बा शेर्पाको नेतृत्वमा विधान मस्यौदा उपसमित गठन गरिएको छ ।
महाधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा र पूर्वमन्त्री कृपासुर शेर्पाले निरन्तर अनुगमन गरिरहेका छन् । संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । महाधिवेशनमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी करिब तीन हजार सहभागी हुने संघले बताएको छ ।