काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अहिलेसम्म नातावाद, कृपावादको आरोप नलागेको बताएका छन् ।
आइतबार बिहान काठमाडौँको त्रिपुरेश्वरमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमालेमा नातावाद कृपावाद नभएको दाबी गरे ।
‘म नातावाद, कृपावादको आरोप नलागेको मानिस हुँ’, उनले भने, ‘नत्र मेरी श्रीमती दुई विषयमा डिग्री गरेकी हुन् । बैंकबाट रिटायर्ड भएकी हुन् ।’
तर पनि आफूले राजनीतिमा उनलाई नतानेको अध्यक्ष ओलीले बताए । ओलीको भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित थियो । आफू बुहारी, छोराछोरी, साला, सालीलाई पार्टीमा ल्याउने प्रवृत्तिको मान्छे नभएको उनले बताए ।
उनले भने, ‘मेरो आफ्नै भाइ वडा कमिटीमा छ किनभने उसले गरेकै काम त्यति हो, जसले जे काम गर्छ त्यही पाउने हो ।’