लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा नाम्गेल शेर्पा सर्वसम्मत

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशनबाट अध्यक्षमा नाम्गेल शेर्पा सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले नाम्गेल शेर्पाको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शेर्पा गत स्थानीय तह निर्वाचनअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्यासी आङ काजी शेर्पा निर्विरोध चयन भएका छन् भने उपाध्यक्षमा पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङवाङ निमा शेर्पा र ल्हाक्पा शेर्पा चयन भए । महासचिवमा आङ पेम्बा शेर्पा उप-महासचिव मिग्युर शेर्पा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले लोकतान्त्रिक शेर्पा संघमार्फत समुदायभित्र राजनीतिक सचेतना जगाउनुका साथै हक अधिकार प्राप्तीका लागि पार्टी गत रुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शेर्पा समुदायभित्र पनि पार्टी निकट संगठनहरुले दुर दराजमा रहेका शेर्पाहरुमा राजनीतिक सचेतना वृद्धि गर्न मद्धत गरेको महाधिवेशन प्रतिनिधि ङवाङ तेन्जी शेर्पाले बताए ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media