काठमाडौं । लामो समयदेखि उठ्न नसकेको उपत्यकाको फोहोर राष्ट्रिय युवा संघले सरकारको विरोध गर्दै उठाएको छ । एमाले निकट युवा संघले नयाँ बानेश्वर, पुरानो बानेश्वर र बत्तिसपुतली क्षेत्रको फोहोर आज उठाएको हो ।
दर्जनौंको संख्यामा भेला भएका युवा संघका कार्यकर्ताले सडकमा थुप्रिएको फोहोर डोकोमा उठाएर ट्रकमा लोड गरेका थिए । युवा संघको लोगो अंकित टिसर्ट लगाएर उनीहरुले मुखमा माक्स र हातमा गोल्ब्स लगाएर फोहोर संकलन गरेका थिए ।
काठमाडौं उपत्यकाको फोहोर विगत केही दिनदेखि उठ्न सकेको छैन । हिजो मात्र पनि धादिङको धुनिबेँशी नगरपालिका १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह समेत गरेका छन् ।
बालेनले आइतबार साँझ सामाजिक सञ्जालबाट संविधानले परिकल्पना गरेको एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापविपरीत आफूलाई असफल बनाउने प्रयास भइरहेको गुनासो गरेका थिए ।