नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाउने निर्णय गरेर संसदीय गरिमाको धज्जी उडाएको आरोप

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवं सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे । नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए ।

सांसद ज्ञवालीले सो विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रश्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षणसमेत गराए ।

जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सोहीअनुसार छलफललाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

सांसद ज्ञवालीले बहुमतको आधारमा सो विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिए ।

एमाले उपमहासचिव ज्ञवालीले संसदमा विचाराधिन सो विषयलाई सत्तारुढ गठबन्धनले जस्ताको त्यस्तै राष्ट्रपतिलाई फिर्ता पठाउने निर्णय गरेर संसद र यसको गरिमाको धज्जी उडाएको आरोप लगाए ।


Published :२ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media