माओवादी केन्द्रको महासचिव देव गुरुङ

काठमाडौं । माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारीको टुंगो लगाएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरे ।

महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव बनेका छन् ।

त्यसैगरी नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भए भने कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।

यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । विचारको विकास र संठगनात्मक प्रणाली निर्माणका लागि विशेष महाधिवेशन गर्ने भनिएको छ, तर मिति भने तय भएको छैन ।


Published :४ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media