प्रहरी र तस्कर समूहबीच झडप, तीनजना प्रहरी घाइते

काठमाडौँ । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको छ ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका- ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्कर समूहले आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको बताए ।

तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीनजना प्रहरी पनि घाइते भएको उनले बताए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । ती घरको खानतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताए ।


Published :७ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media