कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र उर्जामन्त्रीमा रातो कामी

राष्ट्रपाटी न्युज

१३ भाद्र २०७९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका छन् ।

सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीमा नियूक्त शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । माओवादीले प्रदेश सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो ।


Published :१३ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media