काठमाडौं क्षेत्र नं ४ मा डा. राजन भट्टराई एमालेको सर्वसम्मत उम्मेदवार

राष्ट्रपाटी न्युज

१६ भाद्र २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

बिहीबार नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा काठमाडौं क्षेत्र नं ४ बाट डा. भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

सोही पदमा एमाले बागमती प्रदेश कमिटी सदस्य निर्मल कुइकेलले दाबी गरे पनि बृहत छलफलपछि डा. भट्टराईको नाम सर्वसम्मत गरी जिल्ला कमिटीमा पठाएको जानकारी संयोजक खड्काले दिए । साथै उनले एमाले काठमाडौं क्षेत्र नं ४ मा निर्वाचन अभियानमा जुट्ने बताए ।

साथै भोलि भदौ १७ गते प्रदेश सभा क्षेत्रका लागि उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को बैठकमा प्रदेश कमिटी एव क्षेत्र नं ४ इन्चार्ज निर्मल कुईकेल, बागमती सदस्य तथा बुढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश कमिटी सदस्य सङ्गम गहतराजसहित जिल्ला कमिटी सदस्यलगायत विभिन्न तहका प्रतिनिधिहरुको उपस्थिति थियो ।


Published :१६ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media