चुनावअघि नै हारिएला भन्ने गगनलाई डर

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आएपछि हारिएला कि भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन् । चुनावमा जित हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको अनुभूति सुनाएका हुन् ।

काठमाडौंको बूढानीलकण्ठमा रहेको भ्याली पब्लिक माध्यमिक विद्यालयले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन पनि उनले विद्यालयलाई आग्रह गरे । उनले भने- एउटा चुनाव जित्यो । त्यसपछि खुसी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर । जिन्दगी यसरी नै जाने हो । तर बालबालिकाहरूलाई जित र हार हुन्छ, सफल र असफल भइन्छ भनेर सिकाउनुपर्दछ । महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरूलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए ।


Published :भदौ १८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media