मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउने अध्यक्ष ओलीको दाबी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् ।

उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको सुनसरीमा गत निर्वाचनमा प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे । अध्यक्ष ओलीले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गरे ।

नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए । अध्यक्ष ओलीले मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्न नहुने बताए ।


Published :भदौ १८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media