एमाले बूढानिलकण्ठको जिल्ला निर्वाचन कार्यालयमा घेराउ र प्रदर्शन ,मुद्दा हाल्ने तयारी

काठमाडौं । काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ का सात सय पचास भन्दा बढी मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउनका लागि निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको भन्दै नेकपा एमाले आन्दोलित भएको छ । मतदाता नामावलीमा किर्ते कागजात प्रयोग गरेको गोप्य उजुरी परेको भन्दै निर्वाचन आयोगबाट नै टेलिफोन सम्पर्क गरेर धम्कीको शैलीमा २४ घण्टा भित्र सम्पूर्ण सम्बन्धित कागजात सहित उपस्थिति हुने उर्दी जारी भएपछी नेकपा एमालेले निर्वाचन कार्यालयमा पुगेर प्रदर्शन गरेको हो । जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईको कार्यकक्षमा पुगेका आक्रोशित पिडित सहितका आन्दोलनकारीहरुले चर्को नारावाजी सहित भट्टराईको नेम प्लेट समेत तोडफोड गरेका छन्।

अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका आन्दोलनकारीहरु आफूहरुको नाम गगन थापालाई चुनाव जिताउने उद्देश्यले मतदाता नामावलीबाट हटाउन खोजिएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर मतदातालाई सूचीबाट हटाउन खोजिएको दावी गरेका छन् ।

निर्वाचन कार्यालयले कागजपत्र लिएर आउन सूचित गरेका मध्ये बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य मेन्दो शेर्पा समेत छिन् । २०७४ सालदेखि नै मतदान गरिरहेका मतदातालाई समेत कार्यालयले झिकाएको पिडित शेर्पा बताउंछिन् ।

७ सय पचास भन्दा बढी मतदातालाई राजनीतिक पार्टीको नजिक रहेका कारण कार्यालयमा बोलाइएपछि बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीको नेतृत्वमा उपमेयर अनिता लामा, वडाध्यक्ष तथा जनप्रतिनिधिहरु पनि त्यहाँ पुगेका थिए ।

समस्या समाधानका लागि सहमतिको प्रयास भैरहेको र सबै मतदाताले मतदान गर्ने अबस्था नबने आगामी ३० गते पछि आफूहरुले मुद्दा हाल्ने बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले चेतावनी दिएका छन्। बुढानिलकण्ठ नगरपालिकालाइ निर्वाचन आयोगले लेखेको पत्र समेत गैर कानुनी भएको एमाले नेता जयराम थापाले बताएका छन्।

राष्ट्रपाटि डट कमबाट भएको प्रतक्ष्य प्रसारण यो लिंकमा हेर्न सकिने छ।

 


Published :भदौ २०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media