सरकारले आजबाट कर्मचारी नियुक्ति, सरुवा–बढुवा गर्न नपाउने

राष्ट्रपाटी न्युज

२० भाद्र २०७९

काठमाडौं । सरकारले आज (सोमबार) देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कुनै पनि ठाउँमा स्विकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।


Published :२० भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media