कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई एमालेका प्रमुख सचेतक भट्टराईको चेतावनी

राष्ट्रपाटी न्युज

२१ भाद्र २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए ।

उनले त्यस ढंगले प्रतिनिधिसभाभित्र दुई खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान पनि राखे । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको मनोनयन हुने दिन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने उनको भनाइ थियो । प्रमुख सचेतक भट्टराईले एमालेसँग परामर्श गरेरै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाउने गरी विधेयक ल्याएको भनेर कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भनेकोमा आपत्ति जनाए । एमालेले त्यसका लागि सरकारलाई कुनै पनि सहमति नदिएको उनको दावी थियो ।

प्रमुख सचेतक भट्टराईले सरकारको १४ महिने कार्यकालले आमजनतालाई लज्जाबोध गराएको बताए ।


Published :२१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media