सिट बाँडफाँट टुंग्याउने गरी आज साँझ कार्यदलको बैठक बस्ने

राष्ट्रपाटी न्युज

२२ भाद्र २०७९

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । मंगलबार राति बाँकी रहेका कामहरू सक्ने गरी आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि कार्यदलको बैठक बस्न लागेको हो ।

आजको कार्यदलले प्रतिवेदन तयार गरेर शीर्ष नेतृत्वलाई दिने बताइएको छ। हिजोको बैठकले कार्यदलमा सिट बाँडफाँटको विषयमा करिब करिब सहमति भइसकेको र लिपिबद्ध गर्न बाँकी रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

करिब सिट बाँडफाँटको विषयमा सहमति भइसकेको कार्कीले दाबी गरे पनि अझै केही विषयमा छलफल हुन बाकी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार आज प्रदेश र संघकै सहमति सक्ने तयारी भइरहेको छ । तर, प्रदेशका विषयमा केही समस्या भएको हुँदा प्रतिनिधि सभाको मात्रै भए पनि टुंगिन सक्ने उनी बताउँछन् ।

गठबन्धन भित्र लगभग सहमति भइसकेपनि मूल चार पदमा कुरा अड्किएको बताइएको छ । गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टि«य सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ ।

उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।

जसपाले सभामुखमा चासो राख्दा जनमोर्चा पनि एक पद आफ्नो पक्षमा पार्ने दाउमा देखिएको छ ।


Published :२२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media