काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री देउवाको प्रयास रहँदै आएको थियो ।
सोही अनुसार नागरिकता विधेयक संसदबाट पास समेत भैसकेको छ । तर पछिल्लो समय ५ दलीय गठबन्धनमै सिट बाँडफाँटमा कुरा नमिलेपछि लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्ने तयारी गरेको छ । लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले पाँच दलीय गठबन्धन ६ दल बनाउने प्रयास सफल नभएको बताए । उनले अब लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नेगरी अनौपचारिक संवाद थालेको समेत दावी गरे ।
पाँच दलसँग चुनावी गठबन्धन गर्ने कुरा विगतमा भएको हो । प्रयास पनि गरेको हो । लोसपासँग चुनावी गठबन्धन गर्ने भनेर उतैबाट प्रस्ताव पनि आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नै गरौ भन्नुभएको हो । हामी सकारात्मक पनि थियौ तर गर्न सकिएन । ५ दलीय गठबन्धन ६ दलीयमा परिणत गर्ने प्रयास हुँदाहुँदै पनि सम्भव भएन । पाँच दलीय गठबन्धनमा उनीहरुलाई पनि अप्ठेरो भएर हुनसक्छ । देख्दा पनि पनि अप्ठेरो नै देखिन्छ ।
राजनीतिक भागबण्डामा अप्ठेरो भएर हुनसक्छ । यसलाई हामीले स्वभाविक रुपमै लिएका छौ । देश नै गठबन्धनमा गैसकेपछि हामी पनि कसै न कसैसँग लोसपा पनि गठबन्धनमा जानै पर्ने बाध्यतामा छ । हामी एक्लै चुनावमा जान्छौ भन्न अलि अप्ठेरो नै छ । एमालेसँग धेरै सजिलोगरी गठबन्धन हुनसक्छ, पाँच दलजस्तो मारपिट हुदैन । एमालेसँगको सिट बाँडफाँटमा धेरै सजिलो छ । किनभने एमालेको दावी भएका स्थानमा लोसपाले दावी गर्दैन, लोसपाको दावी भएको ठाउँमा एमालेले दावी गर्दैन, यति भएपछि गठबन्धन गर्न कुनै असहजता नै उत्पन्न हुदैन, कुरा मिलिहाल्छ ।