
काठमाडौं । नेकपा एमाले का सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरुले जितेको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नगरेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरेका छन् ।
उनले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेको भन्दै आक्रोश समेत पोखेका छन् । केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धि विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दवाव दिए ।
सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भीरतापूर्वक छलफल गरी गुठीयारहरुको समस्या तत्काल समाधान गर्न पनि माग गरे ।