आगामी निर्वाचनमा जनताले गठबन्धनलाई भोट हाल्नै नहुने एमाले सांसद देवेन्द्र दाहालको जिकिर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकिर गरेका छन्  ।

निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उनले बताए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेकपा (एमाले) ले भने आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दावी समेत गरे ।

सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाए । उनले भने, ‘निर्वाचनमा सबै राजनीतिक दलहरु केन्द्रित भएर लागिरहेको अवस्था छ । यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेविरुद्धमा केन्द्रित छन् । यो गठबन्धन केको गठबन्धन हो ? मान्छेहरुले बुझ्न सकेका छैनन् । र, आ–आफ्नै खालका तर्कहरु छन् । गठबन्धनवालाहरुको के तर्क छ भने यो प्रतिगमनविरुद्धको गठबन्धन हो ।”

सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरि अस्थिरतातर्फ लैजाने षडयन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने बताए ।


Published :भदौ ३१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media