अब छुट्टिने बेलामा धेरै कठोर र तितो नबोलौँ : अध्यक्ष ओली 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दाबी गरे । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको उनले जिकिर गरे । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको धारणा उनले व्यक्त गरे । उनले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै चुनाव भइसकेको हुने बताए ।

उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लंघन गरेको घटना अहिले भइरहेका घटनाक्रमले देखाएको पनि बताए । उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरीत परमादेशबाट सरकार गठन हुनु चाहिँ प्रतिगमन नै हो ।’

बैठकमा उनले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ …..भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप लगाए । उनले अब छुट्टिने बेलामा धेरै कठोर नबोल्ने पनि बताए । उनले भने, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’

संबोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताए । प्रारम्भमा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकूल कानुन र अन्य संरचना निर्माण गरेको बताए भयो ।

यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामकरणलगायत काम निकै राम्रोसँग गरेको उनले बताए । साथै, उनले भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको जिकिर गरे ।


Published :अशोज १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media