सत्तापक्षसँग नलतारिन निर्वाचन आयोगलाई एमाले अध्यक्ष ओलीको आग्रह  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने धारणा राखे ।

उनले भने- ‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ । यो निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु– निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्, आफ्नो स्वतन्त्र हैसियत र स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस् ।’

उनले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गरे । ‘सरकारलाई म भन्न चाहन्छु । अब उपरान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो । सरकारले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने हो’ ओलीले भने, ‘हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्न पाउँदैन ।’

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको ओलीले आरोप लगाए । उनले भने- ‘गएको स्थानीय तह निर्वाचनमा सत्तापक्षीय भूमिका, सत्ताको दुरुपयोग, अनेक प्रकारले सत्ताको दुरुपयोग जस्ता कुराहरु नराम्ररी प्रकट भए, प्रहरी प्रशासन, राज्य संयन्त्रको विभिन्न ढंगले दुरुपयोग गर्ने काम भए ।’


Published :अशोज १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media