काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् ।
संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको बताए । यस्तो गैरजिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्ने ओलीले बताएका छन् ।
महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए । प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत गएनन् ।
एमाले अध्यक्ष ओलीले भने यो घटनालाई अदालतमाथि भएको हस्तक्षेप भनेका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताए । तर सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६ महिनासम्म अड्काएर राखेको भन्दै उनले भने, ‘हिजो संसदको अधिवेशन मात्र सकिएन, संसदको कार्यकाल नै सकियो । त्यो महाभियोग प्रस्ताव पारित भएन ।’
ओलीले अगाडि भने, ‘दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो । यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो । विलम्ब गरेर सफाइ दियो ।’
अब संसद सचिवालयले संसदले पास गर्न नसकेको भनेर पत्र दिनुपर्ने एमाले अध्यक्ष ओलीको तर्क छ ।