
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिंदै गर्दा चुनावी माहोल झन् तात्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर ४ मा त झन् चुनाबी पारो ह्वात्तै बढेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम विदेश बिभाग प्रमुख डा राजन भट्टराई बीच हुने सम्भावित रोचक प्रतिष्पर्धाले यहाँको आम राजनीतिक माहोललाइ नै तरंगित बनाएको छ।
यसैबीच नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम विदेश बिभाग प्रमुख डा राजन भट्टराईले यो पटक गगन थापालाई हराउनु पर्ने बताएका छन्। बिगत १५ बर्ष देखि यस क्षेत्रमा माननीयको रुपमा रहेका गगन थापाले काममा सिन्को भाच्न समेत नसकेको बताउंदै उनले आफूले गत निर्वाचनमा पराजित भएपनि निरन्तर यस क्षेत्रको बिकास एबम निर्माणमा लागि परेको र अरबौं रुपैया बराबरको बजेट यस क्षेत्रमा ल्याउन सफल भएको दावी गरेका छन्। आफ्नो कार्यकाल भरि सिन्को समेत नभाच्ने तर आफ्नो अग्रसरतामा आएको बजेट र भएको बिकास निर्माणलाइ गगन थापाले आफूले गरेको भनेर दावी गर्दा काम गर्ने कालु मकै खाने भालुको उखान चरितार्थ भएको डा भट्टराईको भनाइ छ।
काममा सिन्को नभाच्ने तर होहल्ला भने स्याल हुँइया गरेको भन्दै उनले क्षेत्र नम्बर ४ बाट यो पटक गगन थापालाई हराएर छाड्ने दावी समेत गरेका छन् ।
नेकपा एमालेको तत्कालिन नौ महिने सरकार र भर्खरै कार्यकाल सकिएको ४१ महिने सरकारले बिकास निर्माण लगायत धेरै कुरामा देश निर्माणको आधार तयार गरेको भन्दै उनले अहिलेको सरकारले प्रहरी प्रशासनको दुरुपयोग गर्ने लगायत कार्य गरेर देशलाई जंगली राज तर्फ लान खोजेको आरोप समेत लगाएका छन् ।
राष्ट्रिय यूवा संघ नेपाल बूढानिलकण्ठ नगरपालिकाको प्रथम नगर अधिवेशनमा बोल्दै उनले अब यूवाहरुले यस क्षेत्रमा परिवर्तनको नेतृत्व लिनु पर्ने बताएका थिए। असोज ३ गते संबिधान दिवसको दिन बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कार्की इभेन्ट्समा सम्पन्न प्रथम अधिवेशनबाट पुरुषोत्तम सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको थियो ।विभिन्न पार्टी परित्याग गरी स्थानीय प्रभावशाली यूवा नेता राजन कार्कीको नेतृत्वमा २ दर्जन यूवा नेकपा एमालेमा प्रवेश गरेका थिए। प्रवेश गरेका युवाहरुलाई प्रमुख अतिथि डा. भट्टराई लगायत अतिथिहरुले अविर र खादा लगाई स्वागत गरेका थिए ।