काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग देश बनाउने शक्ति नभएको बताएका छन् ।
उनले कसको नेतृत्वमा आगामी निर्वाचनमा जाने भनेर नेता चुन्न नसक्ने पाँचदलीय गठबन्धनसँग कुनै शक्ति नभएको जिकिर गरे । उनले नेकपा एमालेसँग त्यो शक्ति रहेको र भावी प्रधानमन्त्रीको रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको स्पष्ट पारे ।
म सोध्न चाहन्छु पाँच दलीय गठबन्धनको प्रधानमन्त्री को हामीले त केपी ओली भनेर घोषणा गरिसक्यौं, उनले भने, जसले नेता चुन्न सक्दैन । त्यस्ताले देशको भविष्य बनाउने सामर्थ्य राख्दैन । हामीले नेता चुनेका छौं । देश बनाउने सामर्थ्य पनि हामी राख्छौं ।
उनले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादु्र देउवा हो भन्दै प्रश्न गरे पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा हो भने मंसिर ४ गते हुने निर्वाचनमा केपी ओली र शेरबहादुर देउवाबीच जनमत संग्रह गरौं, उनले भने ।
उनले धेरै दलहरुका कारण ध्रुवीकरण बढ्दै गएको बताए । जति धेरै दल त्यति धेरे ध्रुवीकरण हुने भएकाले एमालेलाई ठूलो पार्टी बनाउन आग्रह गरे । हामीले देखेका छौं । जति धेरै दल त्यति धेरै ध्रुवीकरणको खतरा हुन्छ । त्यसैले अब एमालेलाई ठूलो पार्टी बनाएर देशलाई समृद्ध बनाउनुपर्छ, उनले भने । उनले आकाश र समुन्द्रमा नेपालको पनि हक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अवधारणा ल्याएको बताए ।