ओलीलाई सिंगो देशसँगै मधेसले फेरि खोजिरहेको छः महेश बस्नेत

राष्ट्रपाटी न्युज

१५ आश्विन २०७९

सप्तरी । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि असाधारण भूमिका खेलेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई सिंगो देशसँगै मधेसले फेरि पनि खोजिरहेको बताए । केपी ओलीलाई मधेशबाट बाइबाइ गर्ने दलहरु बाहिरिएका उनले बताए ।

नेता बस्नेतले भने- ‘हिजो केपी ओलीलाई मधेसमा बाइबाइ भन्ने अभियान चलाइयो, आज मधेसमा केपी ओली हाइहाइको अवस्था छ, अहिले पनि सिंगो देशले केपी ओलीलाई खोजिरहेको छ, मधेसले केपी ओली खोजिरहेको छ।’

मधेसी जनताको भावनासँग खेलेर मधेसवादी दलहरुले भ्रष्टाचारबाहेक केही नगरेको नेता बस्नेतले बताए । बेटी बचाउ बेटी पढाउ अभियानका नाममा मधेसवादी दलले भ्रष्टाचार गरेको नेता बस्नेतले बताए । कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले रहेको भन्दै नेता बस्नेतले एमालेमा समाहित हुन सबैलाई आह्वान गरे ।

अध्यक्ष ओलीले समृद्ध मधेसको अभियान चलाएको पनि उनले बताए । हुलाकी राजमार्गदेखि सुनकोशी मरिण डाइभर्सन लगायतका काम अध्यक्ष ओलीले गरेको नेता बस्नेतले स्मरण गराए । केपी ओली नेतृत्वको एमालेको सरकारले ३ वर्षको अवधिमा देशको विकासका लागि असाधारण काम गरेको उनले बताए ।


Published :१५ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media