काठमाडौँ । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
उनी निकट स्रोतहरूका अनुसार भुसाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने छ । भुसालले आफ्नो गृह नगर मणिग्राम समेत पर्ने रुपन्देही १ बाट उम्मेदवारको दाबी गर्दै आएका थिए । भुसालले २०७४ सालको आम निर्वाचनमा पनि रुपन्देही-१ बाट टिकट मागे पनि पार्टीले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको थियो । यस पटक पनि एमालेले विश्वकर्मालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।
२०७४ सालमा भुसाललाई एमालेले रुपन्देही-३ बाट उम्मेदवार बनाएको थियो । यसपटक भुसालको नाम रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । जिल्ला कमिटी पनि रुपन्देही १ बाट नाम सिफारिस गरे पनि प्रदेश कमिटीले छाविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो । भुसालको नाम रुपन्देही-३ बाट केन्द्रबाट सिफारिस भएर आए पनि उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि दीपक बोहोरालाई छाडिदिएको छ ।
सत्तारुढ गठबन्धनमा रुपन्देही १ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भुसाललाई सघाउनका लागि सकारात्मक रहेको छ । शनिबार बेलुकीसम्ममा भुसालले उम्मेदवारीको औपचारिक घोषणा गर्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ ।