
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं–१० मा सत्तारुढ गठबन्धन तोडेको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेकोले कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएर गठबन्धन तोडेको घोषणा गरेको छ ।
यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भए पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलको उम्मेदवारी परेको छ ।
त्यसअनुसार काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । यसैगरी काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् । उनले भनिन्- ‘हामीले गठबन्धन तोडिसक्यौं, स्वच्छ प्रतिस्पर्धा गर्ने, कहिलेकाहीँ यसरी प्रतिस्पर्धा गर्दा पनि रमाइलो हुन्छ ।’