बारामा मृत अवस्थामा भेटिए एकै परिवारका तीनजना

राष्ट्रपाटी न्युज

अशोज २६, २०७९

वीरगन्ज । बारामा बुधबार एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । उनीहरुको शव खोलाको किनारमा फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको शव फालिएको अवस्थामा भेटिएको हो ।

प्रस्टोका गाउँभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी पत्नी २५ वर्षीया सुजता चौधरी,  उनकी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

तीनैजनाको विभत्स तरिकाले हत्या गरी शव फालिएको हुनसक्ने प्रहरीले शंका गरेको छ । घरमुली दीपेन्द्रले पत्नी सुजाता र दुई छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ ।

पत्नी र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाई प्रहरीले घाइते अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा भर्ना गरेको छ । पत्नी र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र लडेर घाइते भएको हुन सक्ने आशंका छ ।


Published :अशोज २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media