स्थानीय तहका सदस्यहरुले उम्मेद्‍वारको पक्षमा प्रचार नगर्नूः आयोग

राष्ट्रपाटी न्युज

अशोज २६, २०७९

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले उम्मेदवारहरुको पक्षमा प्रचारप्रसार गरेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै यस्तो निर्देशन गरेको छ ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्य तथा वडाका अध्यक्षलगायतले आफू निर्वाचित भएको वडा तथा पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न मिल्दैन ।

आफू निर्वाचित भएका स्थानीय तहवाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत, सवारीसाधन, सुरक्षाकर्मी आदिको प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहने गरी संलग्न हुन सकिने व्यवस्था छ । तर, कतिपय स्थानीय तहका कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको पाइएको छ ।

आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारबाही गर्न स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको छ ।


Published :अशोज २६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media