उम्मेदवारबारे मत सर्वेक्षण नगर्न आयोगको आह्वान

राष्ट्रपाटी न्युज

२७ आश्विन २०७९

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आह्वान गरेको छ । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा परिणाम घोषणा गर्न नपाइने भएकाले गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

‘मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागू भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ।’ आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।’

आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । कानुनी व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।


Published :२७ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media