
बैतडी । बैतडीमा सत्ता गठबन्धमा संकट उत्पन्न भएको छ । गठबन्धन दलका बागीले उम्मेदवारी फिर्ता नलिएपछि संकट परेको हो ।
नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारी दर्ता कायमै राखेको छ भने बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुले पनि उम्मेदवारी फिर्ता नलिएर उम्मेदवारी कायमै राखेका छन् ।
प्रतिनिधिसभाका लागि कांग्रेस नेता केशवबहादुर चन्दले आफ्नो उम्मेदवारी कायमै राखेका छन् भने प्रदेशसभाका लागि क्षेत्र नं (क)बाट कांग्रेस नेता हरि मोहन भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएनन् । क्षेत्र नं (क)बाटै नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गरेका नरेन्द्र बिष्टले पनि उम्मेदवारी फिर्ता नगरेपछि सत्ता गठबन्धन संकट आइपरेको हो ।
गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (वियजसुन्दर) ले टिकट पाएका थिए । उनले प्रतिपक्षमा अब गठबन्धनकै कांग्रेस नेता केशवबहादुर चन्दको सामना गर्नुपर्ने भएको छ । यसले बैतडीबाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दामोदर भण्डारीलाई राहात मिलेको छ ।
त्यसैगरी दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धनबाट दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट पाएको थियो । क्षेत्र नं (क) बाट कांग्रेसका बीरबहादुर बिष्टले टिकट पाएका हुन् । उनले अब नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र बिष्ट र नेपाली कांग्रेसबाट बागी उम्मेदवार हरिमोहन भण्डारीसँग भिड्नुपर्ने भएको छ ।
यसरी प्रदेशसभाको क्षेत्र नं (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाललाई राहात मिलेको छ । क्षेत्र नं (ख) बाट कांग्रेसका शिवराज भट्टले टिकट पाएका हुन् । क्षेत्र नं (ख) मा भने बागी उम्मेदवार छैनन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका एमालेका लिलाधर भट्ट नै मुख्य प्रतिस्पर्धी हुन् ।