
काठमाडौँ । नेकपा एमाले डडेलधुराले नेपाली काँग्रेस (बीपी) सँगको चुनावी तालमेल तोडेको छ ।
एमालेले बीपी काँग्रेसले सहमति उल्लङ्घन गरेको भन्दै तालमेल नगर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।
डडेलधुरा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ काँग्रेस (बीपी) लाई र प्रदेशसभातर्फ भने १ र २ दुवै निर्वाचन क्षेत्रमा एमालेलाई दिने सहमति भएको थियो । तर प्रदेश २ मा स्वतन्त्र उम्मेदवारसँग बीपी कांग्रेसले तालमेल गरेपछि एमालेले चुनावी तालमेल तोडेको हो ।
नेपाली काँग्रेस बीपीले सम्झौता उल्लङ्घन गरेको कार्यप्रति असहमति जनाउँदै एमाले डडेलधुराका अध्यक्ष प्रकाशबहादुर साउदले नेपाली काँग्रेस बीपीसँग गरिएको चुनावी तालमेल भङ्ग गरी पार्टीले एकल रूपमा निर्वाचनमा होमिने निर्णय गरेको विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।
एमालेले डडेलधुरा प्रदेशसभा क्षेत्र न. १ मा पठान सिंह बोहरा र प्रदेशसभा क्षेत्र नं. २ मा गजेन्द्रबहादुर शाही तथा समानुपातिकमा आफ्नो पार्टीमा मतदान गर्न अपिल पनि गरेको छ ।
