
रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश सदस्य बजरंगी कुर्मी चौधरीसहित दर्जनौं नेता एमाले प्रवेश गरेका छन् ।
जसपा लुम्बिनी प्रदेश सदस्य चौधरी प्रदेशका मन्त्री सहश्रराम यादवका मुख्य सहकर्मी हुन् । सहश्ररामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर काँग्रेस प्रवेश गरी प्रदेश सांसदको टिकट लिएपछि उनले एमाले रोजेका हुन् ।
एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरेले उनलाई एमालेमा स्वागत गरेकी हुन् । जसपाका प्रदेश कमिटी सदस्य रहेका बजरंगीसँगै मायादेवी गाउँपालिकाको उपाध्यक्ष पदमा यस पटकको स्थानीय चुनावमा २ सय ५० मत अन्तरले पराजित भएकी जसपा नेतृ माधुरी अग्रहरीसहितको ठूलो समूह एमाले प्रवेश गरेको छ । बजरंगी र माधुरीको एमाले प्रवेश गरेसँगै मन्त्री सहश्रराम यादवलाई ठुलो धक्का लागेको छ ।
कार्यक्रममा बजरंगीले अबको सरकारको नेतृत्व र देशको भविष्य दुवै एमालेको हातमा हुने स्पष्ट भएपछि आफू एमाले प्रवेश गरेको जिकिर गरे ।
कपिलवस्तु क्षेत्र १ को २ मा यसअघि गत प्रदेशसभा चुनावमा मन्त्री सहश्रराम यादवसँग ४ सय मतान्तरले पराजित मधुसुधन शरण चौधरी एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।
त्यसमा पनि बजरंगी र माधुरीको आगमनले एमाले झनै मजबुत बनेको एमालेका अध्यक्ष डम्बर शर्माले बताए । बजरंगी त्यो क्षेत्रमा बलियो पकड भएका नेता मानिन्छन् ।
कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं ११ बाट नेपाली काँग्रेस परित्याग गरी ७५ जना एमालेमा प्रवेश गरेको जिल्ला उपाध्यक्ष विश्रामप्रसाद थारुले जानकारी दिए ।