काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा निधन भएको हो ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । करिब एक महिनाअघि जोशीलाई डेंगुको पनि संक्रमण भएको थियो ।
डेंगु संक्रमणपछि जोशीलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको थियो ।
उपचारकै क्रममा शरीरमा अक्सिजनको कमी भएर जोशीलाई सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको थियो । अस्पताल स्रोतका अनुसार जोशीलाई पुरानो रोगका कारण औषधिले समेत शरीरमा राम्रो रेस्पोन्स गरेको थिएन ।
उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।
यस्तै परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले पनि फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टि गरेका छन् ।