
काठमाडौँ । नेपाली सेनाको भवानी गणले “1st Shivapuri Trail Run and Cycling Competition 2022” प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाली सेनाको “प्रधान सेनापति कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८” अनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, लिपिकोट व्यारेक काठमाडौंमा तैनाथ सो गणले आन्तरिक तथा बाह्य पर्यटक गतिविधिलाई मध्यनजर गरी सो प्रतियोगिता कात्तिक १९ गते शिवपुरी सेन्टरमा आयोजना गर्न लागेको आयोजकले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
नेपालको प्रकृति संरक्षणमा थप टेवा पुऱ्याउन, खेलकुद पर्यटनको विकास गर्नुका साथै खेलकुदमार्फत् खेलाडी उत्पादनमा समेत सघाउ पु-याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको सह-आयोजना तथा केही सहयोगी संस्थाहरुको सहयोगमा “संरक्षणमा सबैको सहकार्य” भन्ने अवधारणाका साथ सो प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक भवानीदल गणले जनाएको छ ।
सो प्रतियोगितामा २२ कि.मि. खुल्ला पुरुष Trail Run, ३० कि.मि खुल्ला Cycling, १५ कि.मि खुल्ला महिला Trail Run र आमन्त्रित अतिथिहरुका लागि ३ कि.मि Walkathon समावेश गरिने आयोजकले बताएको छ ।
सो प्रतियोगितामा विभिन्न सैनिक, गैरसैनिक, अन्य सुरक्षा निकायका खेलाडीहरु तथा इच्छुक पर्यटकहरुको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुको प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न तथा खेल मनोबल बढाउन सम्पूर्ण प्रतिस्पर्धीहरुलाई टि-शर्ट तथा प्रमाणपत्रको व्यवस्था गरिने तथा विभिन्न विधाहरुमा पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको २२ किमि पुरुष ट्रेल रनमा प्रथम, द्वितीय, तृतीयलगायत दसौँ स्थान प्राप्त गर्ने विजयी खेलाडीहरुलाई क्रमशः १ लाख, ७० हजार, ५० हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार, १० हजार, ७ हजार, ५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै ३० कि.मि. साइकलिङमा प्रथम, द्वितीय, तृतीयलगायत पाँचौँ स्थान प्राप्त गर्ने विजयी खेलाडीहरुले क्रमशः ७० हजार, ५० हजार, ३५ हजार, २५ हजार, १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी १५ कि.मि. महिला ट्रेल रनतर्फका प्रथम, द्वितीय, तृतीयलगायत पाँचौँ स्थान प्राप्त गर्ने विजयी खेलाडीहरुले ५० हजार, ४० हजार, ३० हजार, २० हजार, १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरुले असोज ३१ देखि कार्तिक १७ गतेसम्म शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, पानी मुहान बुढानिलकण्ठ, शिवपुरी व्यारेक, बुढानिलकण्ठ नगरपालिकाको कार्यालय र टोखा नगरपालिकाको कार्यालयमा दर्ता गर्न सक्ने आयोजकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।