म्यादी प्रहरीको तालिम आजदेखि सुरु

राष्ट्रपाटी न्युज

कार्तिक १, २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी) को तालिम सुरु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको तालिम आगामी कार्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । यस पटक म्यादी प्रहरी भर्ना हुनेको आकर्षण विगतका निर्वाचनभन्दा बढी देखिएको छ।

देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरीको माग गरिएकामा दुई लाख ३४ हजार ३६२ जनाले आवेदन दिएका थिए।भर्ना प्रक्रियाबाट छनोट भएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन स्थलमा परिचालन गर्ने तयारी गरिएको छ। म्यादी प्रहरीमा भर्ना भएकाले ४० दिन निर्वाचन सुरक्षामा खटिनुपर्नेछ । त्यसबापत उनीहरूले एकमुष्ट ५१ हजार १६० रुपियाँ पाउनेछन् ।

यसैगरी दुर्गम हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई न्यानो कपडाबापत थप एक हजार रुपियाँ उपलब्ध गराइने बताइएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षका लागि खटिने म्यादी प्रहरीले ड्रेस, जुत्ता, सिट्ठी, लौरो प्रयोग गर्न पाउनेछन्।म्यादी प्रहरीको तालिम सकिएसँगै आगामी कातिर्क ९ गतेदेखि उनीहरूलाई मतदान स्थलको सुरक्षामा परिचालन गरिनेछ। मङ्सिर ८ गते देशभरका म्यादी प्रहरीको बिदाइ गरिनेछ ।


Published :कार्तिक १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media