चुनावपछि सरकारको नेतृत्व एमालेले गर्छः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

कार्तिक ३, २०७९

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि एमालेले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि सरकारको नेतृत्व एमालेले बताए ।

विकासको महान अभियानमा एमाले अघि बढेको भन्दै उनले एमालेलाई जनताले नै जिताएर नेतृत्वमा पुर्‍याउने बताए ।

अध्यक्ष ओलीले भने, ‘मैले विश्वास लिएको छु, मंसिर ४ पछि एमालेको सरकार बन्छ कसैले रोक्न सक्दैन, म आग्रह गर्न चाहन्छु कुनै अलमलमा नपरी देश बनाउने अभियानमा जुटेर एमालेलाई देशव्यापी रुपमा विजयी बनाउने अभियानमा संलग्न हौं, एमालेको सरकार बनाऔं, देशमा शान्ति, सुव्यवस्था, स्थितरता, स्थायित्व र सुशासनको अभियान चलाऔं र समृद्ध नेपाल सुखी नेपाली बनाऔं ।’

नेपाल समृद्ध हुनुपर्ने र सबै नेपाली जनता सुखी हुनुपर्ने अभियानमा एमाले लागिरहेको भन्दै उनले सूर्य चिन्हमा मतदान गरेर एमालेको सरकार बनाउन सबै नेपालीलाई आव्हान पनि गरे ।

विकास गर्न एमालेकै सरकार चाहिने भन्दै उनले यसअघि सरकारको नेतृत्व गर्दा एमालेले सो कुरा पुष्टि गरेको बताए । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको अध्यक्ष ओलीले बताए ।

पूर्वाधार तथा विकासमा धेरै काम भएको अध्यक्ष ओलीले बताए । कोभिड जाँच गर्ने प्रयोगशाला नभएको अवस्थालाई अन्त्य गरेको, कोभिड महामारीबीच पनि विकास निर्माण अभियान अघि बढाइएको, देशैभर एकैपटक रणनीतिक महत्वका योजना,सडक र अस्पताल शिलान्यास गरेको उनले स्मरण गरे ।

गठबन्धन सरकार आएपछि सुचारु भएका र शिलान्यास भइसकेका योजना काटेको भन्दै अध्यक्ष ओलीले आपत्ति पनि जनाए ।

एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र संकटमा परेको उनले बताए । अध्यक्ष ओलीले भने, ‘एमाले सरकारमा हुँदा पैसा हुने,यिनीहरु आए कि त पैसा छैन ।’

देश दुनियाँ एमालेलाई ध्वस्त पार्न लागिरहेको बताए । एमालेले देशको शिर ठाडो पारेका कारण एमालेलाई ध्वस्त पार्न लागिरहेका अध्यक्ष ओलीले बताए ।

नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोषसहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि उनले बताए । देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेका अध्यक्ष ओलीले बताए ।

एमाले, राप्रपा र जसपाबीचको तालमेल गठबन्धन नभएर चुनावी तालमेलमात्र रहेको उनले बताए । यद्यपि सो तालमेल चुनावपछि पनि कायम रहने अध्यक्ष ओलीले बताए । एमालेले जसपा र राप्रपालाई सामेल गराएर चुनावपछि सरकार बनाउने उनको भनाइ छ ।


Published :कार्तिक ३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media