काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधरण नागरिकसँग टेलिफोनमा संवाद गर्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद गर्न लागेका हुन् ।
उनीसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका छन् । ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनुभएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
धेरै सहभागिता भएकाले बिहीबार १२ बजेपछि नाम टिप्न बन्द गरिएको उनको सचिवालयले जानकारी दिएको छ । मंगलबार अध्यक्ष ओलीले प्रत्यक्ष टेलिफोन कुराकानी गर्न आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।
संसदीय चुनाव नजिकिँदै जाँदा अध्यक्ष ओलीले चुनावी अभियान तीव्र पारेका छन् । उनले केही दिनअघि मात्र प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई खुला डिबेटका लागि आह्वान समेत गरेका थिए ।