काठमाडौं । सत्ता गठबन्धनको प्रदेश चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ ।
गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।
यसअघि काठमाडौं-२ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखरा जाँदैछन् ।
प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् ।
यस्तै, शीर्ष नेताले आज ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । आजै बुटवलमा २ बजे गठबन्धनको भेला हुने जनाइएको छ।
कात्तिक ५ गते ११ बजे गठबन्धनले विराटनगरमा बेलाको आयोजना गर्ने छ । ५ गते नै २ बजे गठबन्धनको भेला जनकपुरमा हुनेछ।
कात्तिक ६ गते ११ बजे धनगढी र २ बजे सुर्खेतमा भेला गरिने गठबन्धनले जनाएको छ । यस्तै कात्तिक ७ गते ११ बजे काठमाडौंमा भेलाको आयोजना गरिने छ ।