
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको प्रतिष्पर्धा एमालेसँग हुने बताएका छन् ।
आइतबार काठमडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे ।
आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने उनले बताए । उनले काँग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए ।
अध्यक्ष लिङदेनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए । एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हिनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने उनको भनाइ छ ।