काठमाडौं । नेपालमा मंगलबार करिब ३२ मिनेट सूर्य ग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार साँझ ४ बजेर ५२ मिनेटदेखि ५ बजेर २४ मिनेट जाँदासम्म ग्रहण लागेको हो ।
यसपटकको सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको थियो । त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको थियो ।
नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिँदैन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ ।
सूर्यग्रहण केवल चन्द्रमाको ‘न्यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ ।
सामान्यतया व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्य ग्रहण लाग्न जान्छ ।
सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ। पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।