
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेराबन्दी गरिएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकामा आयोजित भैलो कार्यक्रममा पोखरेलले गठबन्धनले जनता र राष्ट्रहितमा काम नगर्ने बताएका हुन् ।
‘गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो,’दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पोखरेलले भने, ‘जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठबन्धन गरिएको छ। यो गठबन्धन राष्ट्रहितमा छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन ।’
गठबन्धन स्वार्थहरुको झुण्ड भएकाले जनसरोकारका विषयमा गठबन्धन सरकार बेखबर भएर बसेको उनको दाबी छ ।‘ सत्ता स्वार्थसिद्धिका लागिमात्रै गठबन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो ।’
उनले गठबन्धनका कारण देश आर्थिक संकटतर्फ धकेलिएको धारणा राखे। उनले अहिले बैंकले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको स्पष्ट पारे । पोखरेलले भने,‘गठबन्धन सरकार रहिरहे देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्नेछ । तसर्थ मंसिर ४ को निर्वाचनबाट गठबन्धन सरकार बिदाई गर्नुको विकल्प छैन। जनतासामु यो ठूलो अवसर आएको छ।’